Offcanvas
Edit Template

२० वर्षअघि ‘भ्यालेन्टाइन डे’ कै दिन सुरु भएको थियो युट्युब, यस्तो छ धेरैले नसुनेको कथा

Share
Share
Share
Share
Share

काठमाडौं । २० वर्षअघि आजकै दिन अर्थात् १४ फेब्रुअरी २००५ मा पेपालका पूर्वकर्मचारीले युट्युब डटकम सार्वजनिक गरेका थिए । भ्यालेन्टाइन्स डेकै दिन सार्वजनिक गर्नुको पनि विशेष अर्थ छ । त्यो हो डेटिङ साइट । हो, युट्युब एक डेटिङ साइटका रूपमा सुरु भएको थियो । त्यतिबेला यसको नारा ‘ट्युन इन, हुक अप’ थियो । अर्थात्, ट्युन इन भन्नाले कतै संलग्न हुने भन्ने अर्थ लाग्छ भने हुक अप भन्नाले कसैसँग रोमान्टिक रूपमा जोडिने भन्ने अर्थ लाग्छ ।

संस्थापक स्टिभ चेन, चाड हर्ले र जावेद करिमले सुरुवातमा प्रयोगकर्ता आकर्षित गर्न निकै संघर्ष गर्नुपर्‍यो । डेटिङ साइट बन्ने लक्षण नदेखेपछि उनीहरूले त्यसलाई भिडिओ स्ट्रिमिङ साइट बनाउने योजना बनाए । त्यही अन्तर्गत जावेदले नै २३ अप्रिल २००५ मा युट्युबमा पहिलो भिडिओ अपलोड गरेका थिए । भिडिओको शीर्षक थियो, ‘मी एट द जू’ अर्थात् ‘चिडियाखानामा म’ । उक्त भिडिओमा जावेद आफैं देखिएका थिए भने त्यो भिडिओ सान डिएगो चिडियाखानामा खिचिएको थियो ।

त्यसपछि युट्युब भिडिओ स्ट्रिमिङ प्लेटफर्मका रूपमा विश्वव्यापी रूपमा चर्चाको विषय बन्यो । अहिले युट्युब गुगलको स्वामित्वमा छ । सुरुवातमै युट्युबले बाहिर तहल्का नै पिटेको थियो । तर, भित्रभित्रै ऊ निकै सकसपूर्ण अवस्थाको सामना गरिरहेको थियो । युट्युबको विरलै सुनिने कथा तल संक्षिप्तमा राखिएको छ:

त्यो सकसपूर्ण समयः युट्युबको नसुनिएको कथा !

सन् २००६ को अक्टोबर महिनाको एक दिन बिहान ३ बजे क्यालिफोर्नियास्थित रेडहुड सहरको डेन्नी पार्किङमा भएको एउटा कारमा गुगलका जनरल काउन्सिल डेभिड ड्रमोन्ड र युट्युबका वित्तीय प्रमुख गिडियन युको भेट भयो । उक्त गाडीभित्र ड्रमोन्ड र यु आफ्नो ब्ल्याकबेरी फोनको टर्चलाइटले दस्तावेजको ठेली पढिरहेका थिए । त्यतिखेर एक जना प्रहरी अधिकारी आएर आफ्नो साइरन बजाए, अनि ती दुई व्यक्तिको अनुहारमा लाइट बाले ।

पार्किङ क्षेत्रमा बिहान ३ बजे ती दुई व्यक्ति के गर्दै छन् भनेर प्रहरी अधिकारीले जाँचबुझ गरे । युले जवाफमा ती प्रहरी अधिकारीलाई भने, “हामी मर्जर सम्झौतामा हस्ताक्षर गर्दैछौं ।” युले प्रहरी अधिकारीलाई कार नजिक बोलाए । उनले त्यसबेला सामान्य घरेलु कपडा लगाएका थिए— सुरुवाल, एउटा टि-शर्ट, बेसबल क्याप । प्रहरी अधिकारी नजिक आएपछि युले ती दस्तावेज देखाए, जसमा गुगलले एक अर्ब ६५ करोड अमेरिकी डलरमा युट्युबको पूर्ण स्वामित्व खरिद गर्न लागेको कुरा उल्लेख थियो ।

ती प्रहरी अधिकारीले उनीहरूलाई आफ्नो काम गर्न खुला छोडिदिए । ड्रमोन्ड र युले दस्तावेजमा हस्ताक्षर गरे र आआफ्नो घर फर्किए । दुवै कम्पनीले भिन्नाभिन्नै कारणका लागि उत्सव मनाए ।

गुगलले युट्युबको स्वामित्व प्राप्त गरेको थियो, जसले उसको साम्राज्य विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्दै थियो । अर्कोतर्फ, १८ महिनाको कलिलो कम्पनीबाट मोटो रकम हात परेको थियो । त्यसबेला नयाँ कम्पनी युट्युब आफूविरुद्ध लागिरहेका कपीराइट आरोपहरूको बचाउ गरिरहेको थियो ।

यस्तै, तीव्र गतिमा प्रयोगकर्ता बढिरहँदा कम्पनीको पूर्वाधारले थेग्न नसकेर साइट क्र्यास हुने समस्या आइरहेको थियो । बाहिरी रूपमा विश्वभर सनसनी मच्चाएको युट्युब भित्रभित्रै टुट्ने अवस्थामा थियो ।

सम्झौताको दिनसम्मको अवधि युट्युबका लागि एकदमै सकसपूर्ण रह्यो । दुई सहसंस्थापकमध्ये स्टिभ चेन युट्युबमा चिफ टेक्नोलोजी अफिसर थिए भने चाड हर्ले कम्पनीका सीईओ थिए ।

यी दुई जना सहसंस्थापक सेवाग्राहीको माग धान्न संघर्ष गरिरहेका थिए । यो त्यो समयको कुरा हो, जतिखेर अमेजनको वेब सर्भिस अस्तित्वमा आइसकेको थिएन र युट्युबले सर्भर स्पेसमा आगो लगाइरहेको थियो ।

युट्युबका पहिलो कर्मचारी तथा इन्जिनियर यु पान भन्छन्, “त्यो एउटा ठूलो मेहनतको काम थियो । मलाई लाग्छ, हामी हप्ताका सातै दिन काममा खट्थ्यौं । हाम्रो सेवा अनियन्त्रित रूपमा बढिरहेको थियो । भ्युजको सङ्ख्या एकदमै धेरै बढिरहेको थियो । हाम्रो जस्तो हार्ड ड्राइभ कसैको व्यवसायमा जलेको थिएन होला ।”

२००६ को सेप्टेम्बरमा युट्युबको प्रमुख वित्तीय अधिकृत (सीएफओ) का रूपमा प्रवेश गरेका गिडियन युले ती दिन स्मरण गर्छन् । “जब युट्युबले सर्भर स्पेसका लागि सबैसँग भिख मागिरहेको थियो । कुनै समय हामी हाम्रो सम्पूर्ण लगानीकर्ता हाम्रा साथीसमक्ष पुगेका थियौं । हामीले सबैलाई ईमेलमार्फत उनीहरूले प्रयोग नगरेका कुनै सर्भर भए हामीलाई उपलब्ध गराउन माग गरेका थियौं,” युले भने, “हामीले साथीहरूको घर र कम्पनीसम्म पुगेर भ्याएसम्म सबै सर्भर जुटाएका थियौं ।”

युट्युब नेपस्टर जस्तो अर्को कम्पनी बन्न चाहँदैनथ्यो । धेरै ठूला म्युजिक लेबल र फिल्म स्टुडियोका सामग्रीहरू युट्युबमा राखिएको थियो, जसले गर्दा यो कम्पनी त्यति चाँडै विघटन हुने अवस्था भने थिएन । युट्युबका संस्थापकहरूले पाइरेटेड सामग्री राख्ने परिकल्पना गरेका थिएनन् ।

पेपालमा काम सुरु गर्नुभन्दा केही समय अगाडि युट्युबका संस्थापकहरूसँग रहेर काम गरेका रियोलोफ बोथाले भन्छन्, “युट्युबमा लगानी गर्नका लागि सिकी वा क्यापिटल नामको कम्पनी स्थापना गरिएको थियो । सुरुवातदेखि हामीले कानुनी टोलीसँग काम गर्‍यौं र एउटा कन्टेन्ट मोडरेसन टिमको पनि स्थापना गर्न सुरु गर्‍यौं । तर त्यसले लगत्तै साइटलाई तल झार्यो । यदि तपाईंले फिल्टर राख्न थाल्नुभयो भने क्यान्सरले जस्तै गरी तपाईंको साइटलाई यसले गाँच्न थाल्छ ।” त्यसबेला कानुनी जोखिम युट्युबका लागि सबैभन्दा ठूलो चुनौती बनेको बोथा बताउँछन् ।

त्यो बेला चार्ड र स्टिभको मनमा कम्पनीलाई बचाइ राख्नु फाइदाको विषय होला त भन्ने प्रश्न उब्जियो । “लडाइँ लडिरहनका लागि हामीसँग आवश्यक संसाधन थिएन,” बोथाले भने । युट्युबका जनरल काउन्सिल तथा व्यावसायिक मामिलाका भिपी लेभन युट्युब अगाडि नबढ्ने सोच आफ्नो मनमा आएको दिन सम्झिन्छन् । “पूर्वाधारको माग उच्च थियो । कम्पनीको बैंक खाता बिस्तारै शून्यमा झर्दै थियो । म्युजिक कम्पनीहरूले करोडौं डलर माग गरिरहेका थिए । साझेदारी गर्नका लागि अन्य खेलाडीहरूले युट्युबको ढोका ढकढकाइ रहेका थिए । हामीले सक्दो प्रयास गरिरहेका थियौं,” उनी भन्छिन् । सीएफओ यू भन्छन्, “जब यी सबै तत्वहरू एक ठाउँ आएर बस्छन् तब पैसा उठाउन गाह्रो हुन्छ । जब पैसा सङ्कलन हुन्छ तब मात्र धेरै पैसा पूर्वाधारमा लगानी गर्न सकिन्छ र लगानीकर्ताहरूसँग पनि सम्भावित डिलहरू सम्भव हुन्छ ।”

एक साँझ युट्युब कम्पनी र युनिभर्सल म्युजिकबीच विवादपूर्ण बैठक भयो । उक्त बैठक धेरै नै आक्रामक थियो । बोथाका अनुसार युनिभर्सल म्युजिकले युट्युबमाथि कपिराइट उल्लङ्घन गरेको आरोप लगाएको थियो । अर्को दिन चेन र हरले युट्युब अफिस नजिक रहेको बारमा गए । यी दुई जना रातको समयमा कहिलेकाहीँ कम्पनीको बारेमा कुराकानी गर्न त्यहाँ जाने गरेका थिए । सान मेटियोको ब्लक वरिपरि उनीहरू एकछिन डुले । त्यसपछि बारमा उनीहरूले कम्पनी बिक्री गर्न चाहेको कुरा युलाई बताए ।

युका अनुसार चेन र हर दुवै जना लगातारका विवादित बैठकहरूबाट निराश भइसकेका थिए । कपिराइट उल्लङ्घनका बैठकहरू अझै आक्रामक बन्दै थिए । ती दुई युवाले राम्रो प्रोडक्ट दिनका लागि युट्युबको सुरुवात गरेका थिए, न कि त्यो दिन देख्न । संस्थापकहरूको समूहले पूर्वाधारको समस्या समाधान गर्न सक्ने तथा सन्तोषजनक डिल गर्न सक्ने ठूला कम्पनीहरूलाई युट्युबको स्वामित्व बिक्री गर्दा कस्तो होला भन्ने विषयमा छलफल गरे ।

युट्युबको बोर्ड र लगानीकर्तासँग परामर्श लिएपछि अब अधिग्रहणको बाटोतर्फ अघि बढ्ने कुरामा सबैको सहमति भयो ।

बिडिङ युद्ध 

यूका अनुसार स्पोर्ट्स बारमा भएको त्यो रातको बैठकपछि तेस्रो हप्तामा मात्र युट्युबको अधिग्रहण भयो । युट्युबको बिडिङ युद्धमा माइक्रोसफ्ट, भायकम तथा न्यूज कर्प जस्ता दर्जनौं खेलाडीहरू सहभागी हुने बताइए पनि अन्त्यमा याहू र गुगलले मात्र प्रतिस्पर्धामा भाग लिए । उक्त बिडिङ युद्ध वास्तवमा धेरै सानो, तर कडा थियो । यू स्मरण गर्छन्, “हामी सबै सूचनाहरू एकदमै नियन्त्रित रूपमा फ्लो होस् भन्ने चाहन्थ्यौं ताकि लिक हुने सम्भावना कम गर्न सकियोस् । त्यो बेला हामीले सही स्वामित्वकर्ता पायौं । अन्यथा युट्युब तत्कालीन समयभन्दा खराब स्थितिमा गएर अन्त्य हुन सक्थ्यो ।”

चेन र हर्ले दुवै जना वित्तीय पृष्ठभूमिबाट आएका थिएनन् । ती दुवै सम्झौताको शर्तहरूमा कसरी छलफल गर्ने भनेर सुझाव माग्न आफ्ना लगानीकर्ता स्क्योवाकामा पुगेका थिए । “मेरो घरको डाइनिङ रुममा हामी पिज्जा डिनर गर्थ्यौं । सबै जना टेबल वरिपरि बस्थ्यौं र रियोलोफ बोथा पिज्जा ल्याउने इन्चार्ज थिए । हामीसँग प्रतिस्पर्धा गर्न नसकिने नवीनतम प्रडक्ट छ भन्ने कुरा याहू र गुगललाई स्पष्ट थियो । त्यो बेला हाम्रो पल्ला गह्रुंगो नै थियो,” स्क्योवाका पूर्व साझेदार पेरी लामोण्ड भन्छन् ।

युट्युबलाई अधिग्रहण गर्नु अघि यू याहूका वित्तीय अधिकारी थिए । उनले याहूका आफ्ना पुराना साथीहरू माझ युट्युब खरिद गर्न सक्ने सम्भावनाको कुरा सेयर गरेका थिए । यदि याहूले रुचि देखाउँथ्यो भने, उसले तत्काल मिटिङ सेटअप गर्नु पर्ने थियो । सिलिकन भ्यालीमा संस्थापकहरू सर्वत्र चर्चित भएका कारण उनीहरूले कसैको ध्यान नजाने ठाउँमा बैठक बस्नु पर्‍यो । दस्तावेजहरू सबै राम्रोसँग तयार पारिएका थिए । उनीहरूले युट्युबको कार्यालयभन्दा १४ मिनेट टाढा रहेको डेन्नीको रेडउड सहरलाई चयन गरे ।

पहिलो दिन हर्ले र चेनले गुगलका ल्यारी पेज र एरिक स्क्यामिड्टसँग भेट गरे । यूका अनुसार जब गुगलले पहिलो पटक युट्युब अधिग्रहणको प्रस्ताव गर्‍यो, त्यो एकदमै न्यून मूल्य थियो । त्यसबेला युट्युब पनि आफ्नै छुट्टै डिलमा जुटेको थियो । महँगो कपीराइट मुद्दाबाट बच्न सकिने आशामा ऊ म्युजिक लेबलसँग डिल वार्तामा थियो । २००६ सेप्टेम्बरमा युट्युबका सुरुवाती समयका दुई कर्मचारीहरू लेभिन र क्रिस म्याक्सी, जो साइटका लागि बिजनेस डेभलपमेन्ट इन्चार्ज थिए, उनीहरूले वार्नर म्युजिकसँग सम्झौता गरे । लेभिनका अनुसार उक्त सम्झौता आफैमा नयाँ र एउटा ल्यान्डमार्क थियो । प्रयोगकर्ताले तयार पारेको भिडिओलाई युट्युबले होस्ट गर्ने, त्यसमा वार्नरको स्वामित्व रहेको म्युजिक हुने र विज्ञापनबाट आएको आम्दानी दुवैले बाँड्ने सहमति भएको थियो ।

त्यस समय लेभिन र म्याक्सी तीव्र गतिमा ठूला राइट होल्डरहरूसँग अन्य तीन डिलमा छुट्टाछुट्टै छलफल गरिरहेका थिए । जुन दिन युट्युबले आफ्नो कम्पनी अधिग्रहण भएको घोषणा गर्‍यो, त्यो दिन उसले अन्य तीन फरक डिलको पनि घोषणा गरेको थियो । एउटा सीबीएससँग, जसमा युट्युबले सीबीएसको कार्यक्रमलाई प्रसारणको अनुमति दिएको थियो । यस्तै अन्य दुई म्युजिक लेबल र युनिभर्सल म्युजिक ग्रुप र सोनी म्युजिकको पूर्ववर्तीसँग थियो । ती कम्पनीहरूले युट्युबलाई आफ्ना म्युजिक भिडिओ प्रसारणको अनुमति दिएका थिए ।

यूका अनुसार युट्युब याहू र गुगलसँग अधिग्रहणको उचित मूल्यबारे छलफल गरिरहेको थियो । लेभिन अधिग्रहणपछि युट्युबसँग काम गरिरहेको ल फर्मतिर प्रवेश गरिन् । युट्युब अब सान मेटियोस्थित आफ्नो कार्यालयमा अटाउन नसक्ने भइसकेको थियो । ऊ सान ब्रुनोतिर सर्ने योजनामा थियो । स्क्योवाका लामोण्डले आफ्नो सम्पर्कको प्रयोग गरेर युट्युबलाई आफ्नो पुरानो मुख्यालयमा भाडाको भवन दिलाए । युट्युब नयाँ भवनमा सर्ने योजना यथावत् नै थियो । कम्पनी बिक्री हुने कुरा चलिरहेको थियो ।

त्यसैबीच म्याक्सीसँग मिलेर लाइसेन्सिङ डिलमा छलफल गरिरहेकी लेभिनको अगाडि समयक्रमले अप्ठ्यारो मोड खडा गरिदियो । “हामी आइतबार बिहान २ बजेतिर कार्यालयमा नै थियौं । डिल टुंगिने क्रममा थियो । अर्कोतिर कम्पनी सर्नका लागि सबै कुरा प्याकिङ भइरहेको थियो,” लेभिन स्मरण गर्छिन्, “मलाई याद छ, म त्यतिखेर सोनी म्युजिकसँग फोन कलमा थिएँ । त्यही बेला अचानक फोन डिस्कनेक्ट भयो । अन्य सहकर्मीहरूले हाम्रो फोन सिस्टम र प्रिन्टरको प्लग तानेर डिस्कनेक्ट गरिदिए ।”

गुगलको अन्तिम मौका 

अक्टोबर सुरुवाततिर आइपुग्दा युट्युब डिल गर्ने सङ्गारमा थियो । तर त्यो डिल गुगलसँग थिएन । यु का अनुसार युट्युब र याहुसँगको उक्त डिलको पुनरावलोकन गर्न एक दिनभरको बैठक बसेको थियो । साथै सोही दिनको अन्त्यमा अधिग्रहणका लागि ट्रम्प सिटमा हस्ताक्षर गर्ने योजना पनि थियो । त्यसको अघिल्लो दिन युट्युबले गुगललाई अन्तिम मौका दिने निर्णय गरेको थियो ।

“हामीले याहुलाई दोस्रो प्राथमिकतामा राखेका थियौं र गुगललाई धेरै महत्वका साथ पहिलो स्थानमा राखेका थियौं,” ल्यामन्ड भन्छन्, “हर्ले र चेनले गुगललाई निर्धारित मूल्य भन्न यु लाई अनुमति दिएका थिए ।” यु भन्छन्, “मैले गुगललाई यदि तिमीले यो मूल्य कबुल गर्न सक्यौ भने हामी याहुसँग वार्ता रद्द गर्छौं भनेको थिएँ । युट्युबको टिमले एक अर्ब ६५ करोड डलर रकम प्रस्ताव गरेको थियो ।” बुथा का अनुसार उक्त रकम २००२ मा ईबेले पेपालका लागि तिरेको मूल्यभन्दा १० प्रतिशतले धेरै थियो । पेपालको सहकर्मी सञ्जालमा रहेका पिटर थाइल, एलन मस्क र रेड होपम्यान बुथा र युट्युबका संस्थापकहरुसँग प्रतिस्पर्धामा रहेको बुथा सुनाउँछन् ।

गुगलले प्रस्तावित मूल्यमा सहमति जनायो । र युट्युबले आफू डिल गर्न तयार रहेको बतायो । तर अर्को बिहान याहुसँग भेट हुन बाँकी नै थियो । यदि यो सम्झौता हुने नै हो भने तत्काल हुन आवश्यक छ ताकि युट्युबले याहुसँग डिल रद्द गर्न सकोस् भन्ने धारणाहरू आए । त्यसपछि ड्रम मोड र यु ले रातभर लागि परेर बिहानसम्ममा काम सम्पन्न गरे । यसरी उनीहरूले युट्युबको कार्यालयदेखि १४ मिनेट र गुगल कम्प्लेक्सदेखि १२ मिनेट दूरीमा रहेको पार्किङ एरियामा यु को गाडीभित्र बसेर दस्तावेजमा हस्ताक्षर गरे ।

“म फर्केर गएँ र ती दस्तावेज चार्ड र स्टिभलाई देखाएँ त्यसपछि हामीले याहुलाई बोलाएर बैठक रद्द गर्‍यौं । यसरी यो सबै कुरा सम्पन्न भएको थियो,” यु ले भने । तर युट्युबको खरिद प्रक्रियामा आफू संलग्न भएको विषयमा प्रतिक्रिया दिन याहुले अस्वीकार गर्दै आएको छ । त्यो सबै हतारमा भएको थियो । ट्रम्प सिट हस्ताक्षर गरेदेखि डिल घोषणा हुँदा सम्म पाँच दिन लागेको चेन बताउँछन् । तर लेबिन र यु एक हप्ता लागेको बताउँछन् । जे जति समय लागे पनि यो डिल हतारमै भएको थियो । त्यस समय यी सबै कुराहरू हतार हतारमा भएका थिए ।

“हामीले लीगल अफिसको तल उक्त डिलमा हस्ताक्षर गरेका थियौं । त्यसपछि म करिब १००/११० माइल प्रति घण्टाको गति मा सान ब्रुनो आइपुगें र अफिस भित्र गएर त्यो डिल सम्पन्न भएको घोषणा गरे,” यु भन्छन् । त्यो सम्झौताको घोषणा पत्र बिना तडकभडक सामान्य रूपमा गरियो । ल्यारी पेज, सर्गेई ब्रिन र एरिक स्किम नयाँ सान ब्रुनोको कार्यालयमा आएका थिए । त्यहाँ हर्ले र चेनसँग उनीहरूले युट्युब अधिग्रहण गरेको घोषणा गरे ।

सन् २००६ जुनमा युट्युबको एड सेल्स निर्देशकको रूपमा प्रवेश गरेका जेमी ब्रन (Jamie Byrne) अझै पनि युट्युब म क्रियटर पार्टनरशिपको वरिष्ठ निर्देशकको रूपमा कार्यरत छन् । उनी त्यसलाई पूर्ण रूपमा आश्चर्यजनक डिलको रूपमा व्याख्या गर्छन् । ब्रन भन्छन्, “त्यो समय युट्युबको सबैभन्दा ठूलो प्रतिस्पर्धी गुगल भिडिओ थियो । यो कुराले पनि हामी धेरैलाई मार्मिक बनाएको मलाई लाग्छ । अहिले गुगलको सहायता र पूर्वाधारबाट प्राप्त यो अतुलनीय लाभका लागि हामी खुसी र उत्साही छौं । तर एउटा कुरा सधैं खड्किरहन्छ । वास्तवमा हामीले जे गरेका थियौं त्यसमा हामी सफल थियौं ।”

युट्युबका कतिपय कर्मचारीहरू उक्त अधिग्रहणका बारेमा जानकार समेत थिएनन् । युट्युबका कन्टेन्ट मोडरेटर डेभिसलाई यो कुराको कुनै सुइकोसम्म थिएन । कर्मचारीहरूले त्यो सोमबारको दिन युट्युबको कार्यालयमा काम गरेर बित्ने सोचेका थिए । कुनै ठूलो अधिग्रहणको बारेमा कल्पना समेत थिएन । इभिङ डेभिसका अनुसार नयाँ सेटिङ प्लान र डेस्कहरू मिलाउने योजना भएको हुँदा त्यो दिन सबै कर्मचारीहरू पुरानो कपडामा नयाँ कार्यालय आएका थिए ।

तर युट्युबको पूरै टिमले कम्पनी बिक्रीको सेलिब्रेशनमा सहभागी हुनुपर्यो । डेभिस भन्छन्, “यदि त्यो दिनको फोटो कसैसँग छ भने हामी साँच्चै नै एकदमै न्यून स्तरको देखिएका थियौं । हामी कसैले त्यो अपेक्षा गरेका थिएनौं ।” ब्रनका अनुसार टोलीले त्यो दिन बनाएको सर्ट भिडिओमा हर्ले र चेनले ब्लेजर लगाएका थिए र उनीहरूले कम्पनी बिक्री गरेको घोषणा गर्दै क्रिएटर कम्युनिटीलाई धन्यवाद दिएका थिए । हर्ले उक्त भिडिओमा भन्छन्, “हामी तपाईंको लागि उत्कृष्ट सेवा विकास गर्न प्रतिबद्ध छौं । हामी नवीनतम सेवा तथा प्रविधि बनाउनेछौं, ताकि तपाईंले हाम्रो साइटमा रमाइलो महसुस गर्न सक्नुहोस् ।”

एउटा ठूलो सफलता 

नोभेम्बरमा अधिग्रहण सम्पन्न भएपछि पनि युट्युबका कर्मचारीहरूको जीवनमा कुनै परिवर्तन आएन । आजसम्म युट्युबको कार्यालय सान ब्रुनोमै अवस्थित छ । चेनले सन् २००९ मा गुगल प्रवेश गर्न युट्युब छाडे र दुई वर्षपछि पुनः कम्पनी नै छाडे । हर्ले २०१० सम्म युट्युबको सीईओ रहे । त्यसपछि गुगलका सालार कामानगरले उनको स्थान लिए । चेनले हर्लेसँग मिलेर एकसाथ केही नयाँ गर्ने विषयमा कुराकानी भइरहेको बताएका थिए । त्यसपछि दुवैले २०११ मा साझेदारी गरेर इन्टरनेट कम्पनी एवीओएस सिस्टम ल्याए ।

युट्युबका अधिकांश पुराना कर्मचारीहरूले आफ्नो जीवनमा झिना-मसिना परिवर्तन मात्र आएको बताउँछन्, त्यो पनि सुरुवातमा । गुगलले युट्युबको कार्यालयमा आफ्नो मिनियन्स स्टोर थप गर्‍यो, जहाँ कर्मचारीहरूले चिया र सफ्ट ड्रिङ्क्स निःशुल्क पाउँथे । युट्युबका नम्बर वान कर्मचारीमा पर्ने युपानले नयाँ कम्पनीले पार्टी भने राम्रो दिने गरेको आफूले ख्याल गरेको बताउँछन् । अधिग्रहण भएको घोषणाको दिनदेखि कर्मचारीहरूले सबवेको स्यान्डविच खाजा पाउँथे । गेडियन यु भन्छन्, “पुरानो कार्यालयमा हामीले नुडल्स कप पाउँथ्यौं तर नयाँ अफिसमा नयाँ खाजा पाउँछौं । यो एउटा ठूलो सफलता हो ।” तर एउटा सकारात्मक कुरा के छ भने, युट्युबले अधिग्रहण अघि जे गर्दै थियो, उसलाई स्वतन्त्र रूपमा त्यही काम गर्न दिने गुगलले बाचा गरेको थियो ।

उसले खुला रूपमा युट्युबलाई स्वतन्त्र रूपमा काम गर्न छोडिदिएको छ । युट्युब कन्टेन्टका लागि तत्कालीन उपाध्यक्ष केन डोनाहुई भन्छन्, “मर्जर भएका कम्पनीहरूको दुःखको समाचार धेरैजसो सुन्नमा आउँछ, तर हामीलाई त्यस्तो भएन ।” गुगलको स्वामित्वमा पुगे पनि युट्युबमा नियन्त्रण भने चेन र हर्लेकै थियो । गुगलबाट आएका कर्मचारीहरूलाई पनि उनीहरूले नै काम तथा जिम्मेवारी बाँडफाँट गर्थे । टिमको मुख्य चासो भनेको अब युट्युब र गुगल भिडिओलाई संयुक्त रूपमा अघि लगेर प्रस्तुत गर्नुपर्ने थियो । चेन भन्छन्, “त्यो क्षण हाम्रो सबैभन्दा ठूलो शत्रुसँग हात मिलाउनुजस्तै थियो र हामी साथी बन्न दबाबमा थियौं । सुरुमा यो निकै अप्ठ्यारो थियो, तर पछि गुगल भिडिओ र युट्युब मर्ज भयो ।” एउटा स्टार्टअपको केस हो, जुन फुल्न र फल्न सक्षम थियो । अधिग्रहण हुँदै नाटकीय रूपमा परिवर्तन भयो ।

युट्युब अब एउटा सानो क्लोज-किट परिवारजस्तो महसुस गर्दैन, जुन यो ग्रहकै सबैभन्दा ठूलो कम्पनीको छत्रछायामा छ । कुनै बेला युट्युबको बोर्डमा सेवा गरेका स्क्वाका बोथा डिल घोषणा भइसकेपछि युट्युबको कार्यालय छिरेका ती दिनहरू स्मरण गर्छन् । पहिले नामबाटै सबैबाट परिचित हुने बोथा अब आफूलाई नयाँ अनुहारहरूले घुरिरहेको पाउँछन् । भन्छन्, “म भित्र जान्छु, सबै विस्थापित भएका छन् । फ्रन्ट डेस्कका कर्मचारीहरू नयाँ छन् । म आफूलाई पूर्ण रूपमा कुनै बाहिरी व्यक्ति भएको महसुस गर्छु । म एकदमै अचम्मित पर्छु । त्यो बेला म महसुस गर्छु— यो त गुगलको पो कम्पनी हो त !”

लेखकको बारेमा

rajeev.p

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

ऐतिहासिक विश्वकप खेल्न उत्साहित खेलाडी, सुपर सिक्समा पुग्ने लक्ष्य

ऐतिहासिक विश्वकप खेल्न उत्साहित खेलाडी, सुपर सिक्समा पुग्ने लक्ष्य

ललितकला प्रज्ञा–प्रतिष्ठानमा सिसी कला प्रदर्शनी सुरू

ललितकला प्रज्ञा–प्रतिष्ठानमा सिसी कला प्रदर्शनी सुरू

इजरायलले युद्धविराम सम्झौताको वाचा पूरा नगरेको टर्कीका राष्ट्रपतिको आरोप

इजरायलले युद्धविराम सम्झौताको वाचा पूरा नगरेको टर्कीका राष्ट्रपतिको आरोप

‘सैयारा’ को टाइटल गीत स्पोटीफाईको ‘ग्लोबल ट्रेन्डिङ’ को शीर्ष स्थानमा

‘सैयारा’ को टाइटल गीत स्पोटीफाईको ‘ग्लोबल ट्रेन्डिङ’ को शीर्ष स्थानमा

प्रदेशका जनप्रतिनिधिले हरेक कुराका लागि केन्द्रतिर फर्किने स्थिति भयो : पाण्डे

प्रदेशका जनप्रतिनिधिले हरेक कुराका लागि केन्द्रतिर फर्किने स्थिति भयो : पाण्डे

लागत कटौती नगरे अमेरिका टाट पल्टिन्छ : एलन मस्क

लागत कटौती नगरे अमेरिका टाट पल्टिन्छ : एलन मस्क

कर्णालीका मुख्यमन्त्री भन्छन्- मन्त्रालयहरू घटाउनु पर्ने आवश्यकता छ

कर्णालीका मुख्यमन्त्री भन्छन्- मन्त्रालयहरू घटाउनु पर्ने आवश्यकता छ

ट्रम्प-मोदी भेटवार्ताका ६ उपलब्धि

ट्रम्प-मोदी भेटवार्ताका ६ उपलब्धि

चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका

चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका

तिलौराकोट गोल्डकप फागुन दोस्रो साता

तिलौराकोट गोल्डकप फागुन दोस्रो साता

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

प्रबन्ध निर्देशक :
सम्पादक:
अतिथि सम्पादक :
संरक्षक:

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Sudur Samachar. Website Designed By R4J33V